स्वशासन अध्ययन प्रतिष्ठानले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को “कृषि–खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा ” (Renewable Energy for Resilient Agri–Food System -RERAS) परियोजना संगको सहकार्यमा वातावरणमैत्री स्थानीय शासनको तालिम पाठ्यक्रम तथा इ मोड्युल तयार गरेको छ । तात्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) द्वारा सन् २०२१ मा स्वीकृत वातावरणमैत्री स्थानीय शासन (EFLG Framework) मा आधारित भै तयार गरिएको यो तालिम पाठ्यक्रम तथा ई–मोड्युललाई स्थानीय तहमा क्षमता विकास गर्दा रणनीतिक स्रोत सामग्रीका रूपमा प्रयोग गर्न सकिने क्षमता विकासको साधनका रूपमा विकास गरिएको छ । यो सामग्री स्थानीय नीति, योजना, बजेट र शासकीय अभ्यासहरूमा प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, भू–उपयोग योजना, जलवाय उत्थानशील कृषि, विपद् जोखिम न्यूनीकरण, उत्थानशील स्थानीय पूर्वाधार विकास लगायतका विविध पक्षहरूलाई एकीकृत गरी मूलप्रवाहीकरण गर्न सहयोगी हुने विश्वास लिईएको छ । स्थानीय, प्रदेश र संघीय सरकारका अधिकारी तथा पेसाकर्मीहरूले प्रयोग गर्न सक्ने गरी यस ई–मोड्युललाई प्रयोगकर्तामैत्री प्राविधिक साधनका रूपमा तयार गरिएको छ ।
यो ई–मोड्युल वातावरणमैत्री स्थानीय शासन सम्बन्धी स्रोत सामग्रीहरूको सँगालो हो । यसलाई स्थानीय सरकारहरू र उप–राष्ट्रिय तहमा क्षमता विकाससँग सम्बन्धित पेसाकर्मीहरूले प्रयोग गर्न सक्छन् । स्वशासन अध्ययन प्रतिष्ठानद्वारा तयार गरिएको वातावरणमैत्री स्थानीय शासन सम्बन्धी तालिम पाठ्यक्रममा पाँचवटा मोड्युल र २० वटा प्राविधिक सत्रहरू रहेका छन् । ई–मोड्युलमा ५ दिने तालिमका लागि पावरपोइन्ट प्रस्तुतीकरण, इन्फोग्राफ र वातावरणमैत्री स्थानीय शासन स्रोत पुस्तिका समेत समावेश गरिएका छन् । साथै वातावरणमैत्री स्थानीय शासन सम्बन्धी चारवटा एनिमेटेड भिडियोहरू, पाँचवटा सफलताका कथाहरूका साथै तीनवटा सिमुलेसन/अभ्यासहरू पनि समावेश गरिएका छन् । यसका अतिरिक्त वातावरणमैत्री स्थानीय शासन सँग सम्बन्धित केही आधारभूत प्रश्नहरूलाई तालिम “पूर्व–परीक्षण” (Pre–Test) र “पश्चात परीक्षण” (Post–Test) प्रश्नावलीका रूपमा राखिएको छ, जसलाई सहभागीहरूले आफ्नो स्व–मूल्याङ्कनका लागि प्रयोग गर्न सक्नेछन् । ई–मोड्युलले परीक्षणहरूमा तत्कालै स्वतः उत्पन्न हुने (Auto generated) नतिजा (स्कोर) प्रदान गर्दछ । साथै वातावरणमैत्री स्थानीय शासन सम्बन्धी सिकाई तथा सुझावहरु, नमूना कार्ययोजना र आगामी कार्यदिशाले वातावरणमैत्री शासन प्रणालीमा योगदान पुर्याऊन चाहने इच्छुक व्यक्ति तथा संस्थाहरूलाई महत्वपूर्ण जानकारी र मार्गदर्शन प्रदान गर्दछन् ।
यो सामग्री हाल केही समयको लागि inlogos.edu.np मा हेर्न सकिन्छ । यो सम्पूर्ण सामग्री UNDP को पूजीँको रुपमा रहने हुंदा यसको प्रयोग UNDP को RERAS Project ले तय गरे बमोजिम हुनेछ । यो कार्य सम्पन्न गर्न सहयोग र समन्वय गर्ने UNDP/RERAS, नेपाल सरकारका सम्वन्धित मन्त्रालय तथा निकायहरु, स्थानीय तहहरु र तिनका संघ, महासंघ, गैर सरकारी तथा निजी क्षेत्र, संघ तथा प्रदेश तहका प्रशिक्षण प्रतिष्ठान लगायत सम्वन्धित निकाय र विज्ञ टोलीका साथै यस कार्यमा संलग्न रहनु हुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरु प्रति स्वशासन अध्ययन प्रतिष्ठान हार्दिक आभार व्यक्त गर्दछ ।
